त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात, यूएई ७ विकेटले पराजित 

काठमाडौँमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।  यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय पारी खेले भने अल नासिरले ३२ रन बनाए त्यस्तै   कप्तान मुहम्मद वसीम १७ रन बनाई आउट भए आसिफ खानले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



नेपालका लागि करण केसीले ३ विकेट लिए भने गुल्सन झाले २ विकेट लिँदा अबिनाश बोहरा र सोमपाल कामीको  समान १-१ विकेट रह्यो । १४१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १८.५ ओभर ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले भने दिपेन्द्र सिंह ऐरी समेत ३४ रनमा अविजित रहे ।

त्यस्तै ओपनर कुशल भुर्तेल १४ रन बनाई आउट भए भने आसिफ शेखले २३ र कुशल मल्लले ११ रन जोडे  । यूएईका लागि अल नासिर र निलांश केसवानीले समान १-१ विकेट लिए । टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा यस सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् । अब नेपालले सिरिजको दोस्रो खेलमा भोलि हङकङसँग खेल्नेछ ।

सम्बन्धित समाचार