नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । लमजुङ, राईनास नगरपालिका-४ टारी बस्ने २५ वर्षीय हरी भन्ने सुरज संग्रौला आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मुस्ताङ, लोमान्थाङ गाउँपालिका-५ एक्लेभट्टीस्थित सडक छेउमा सोही ठाउँस्थित किम्लिङ खोलाको पुल निर्माणको काममा ज्याला मजदुरी गर्ने उदयपुर गाईघाट घर बताउने ४६ वर्षीय अर्जुन थापामगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै दार्चुला, नौगाड गाउँपालिका-१ बगड बस्ने ४८ वर्षीया धनादेवी ठगुन्ना सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।