विश्वकप क्रिकेटमा न्यूजिल्यान्डद्वारा अफगानिस्तान पराजित 

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले लगातार चौथो जित हात पारेको छ । बुधबार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै न्यूजिल्यान्डले प्रतियोगितामा चौथो जित हात पारेको हो ।

भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङ गको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८८ रनको योगफल बनायो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्स र कप्तान टम लाथमले अर्धशतकीय पारी खेल्दै क्रमश: ७१ र ६८ रन बनाए भने विल योङ्गले ५४ रन जोडे । त्यस्तै रचिन रविन्द्रले ३२ रन बनाए ।



अफगानिस्तानका लागि आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान २-२ विकेट लिए भने राशिद खान र मुजिब उर रहमानको भागमा समान १-१ विकेट रह्यो । २८९ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तान ३४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रन बनाए भने आजमतुल्लाह ओमरजाई २७ रन जोडे । यस्तै रहमानउल्लाह गुरबाज ११ रन बनाई आउट भए भने इब्राहिम जद्रानले १४ रन जोडे ।

न्यूजिल्यान्डका लागि मिचेल सान्टनार र लोकी फर्गुसनले समान ३-३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा म्याट हेनरीको भागमा १ विकेट रह्यो । यस जितसँगै न्यूजिल्यान्डले प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको न्यूजिल्यान्ड ४ खेलमा ८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । न्यूजिल्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेटले, नेदरल्यान्ड्सलाई ९९ रनले र बङ्गलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

 

सम्बन्धित समाचार