नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कार्तिक ।


काठमाडौँमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भयो । हङकङका लागि यासिम मुर्ताजाले ३६ र जिसान अलीले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
नेपालका लागि करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र अविनास बोहोराले समान २ विकेट लिँदा कुशल मल्ल र मौषम ढकालको भागमा समान १-१ विकेट रह्यो । ९५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको लागि ओपनर आसिफ शेखले ४२ रन बनाए भने कप्तान रोहित पौडेल २५ र गुल्सन झा १४ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाए । हङकङका लागि इसान खानले ३ र यासिम मुर्ताजाले १ विकेट लिए । टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा यस सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् । नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।

