नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कार्तिक ।


भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा भारतको यो लगातार चौथों जित हो भने बंगलादेशको तेस्रो हार । पुनेको महारष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमा अलआउट हुँदै २५६ रन बनायो । बंगलादेशको लागि लिटन दास र तनजिद हसनले क्रमश : ६६ र ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै महमुदुल्लाहले ४६ रन बनाई आउट भए भने मुस्फिर रहिमले ३८ र टोहीडी ह्रदोयीले १६ रन जोडे ।
भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २-२ विकेट लिए भने कुलदीप यादव र शार्दुल ठाकुरको भागमा समान १-१ विकेट रह्यो । २५७ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको लागि विराट कोहलीले अविजित रहँदै १०३ रनको शतकीय पारी खेले भने शुभमन गिलले ५३ रन अर्धशतकीय पारी खेले ।
यस्तै कप्तान रोहित शर्मा ४८ रन बनाई आउट भए भने केएल राहुल ३४ रनमा अविजित रहँदा श्रेयस अय्यरले १९ रन जोडे । बंगलादेशका लागि मेहिदी हसन मिराजले दुई विकेट लिए भने हसन महुदको भागमा एक विकेट रह्यो । जितसँगै भारत र न्युजिल्यान्ड समान ४ खेलमा ८ अङ्क भएपनि भारत रनरेटमा पछि रहँदै दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

