नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।


भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी भएको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा यो अष्ट्रेलियाको दोस्रो जित हो भने पाकिस्तानको दोस्रो हार । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्शले क्रमश: १६३ १२१ रनको शतकीय पारी खेले भने मार्कुस स्टोइनिसले २१ र जोश इङ्लिसले १३ रन बनाये ।
पहिलो विकेटका लागि वार्नर र मार्शले २४९ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । पाकिस्तानका लागि साहिन सा अफ्रिदीले ५ विकेट लिए भने हरिस रउफले ३ विकेट लिँदा उस्मान मिरको भागमा १ विकेट रह्यो । ३६८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तान ४५.३ ओभरमा अल आउट हुँदै ३०५ रनमा समेटियो ।
पाकिस्तानका लागि इमान उल हकअब्दुल्लाह शफिकले अर्धशतकीय पारी खेल्दै क्रमश: ७० र ६४ रन बनाए भने मोहम्मद रिजवानले ४६ रन जोडे । यस्तै साउद शकिल ३० रन बनाई आउट भए भने इफ्तिखर अहमदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र शहिन शाह अफ्रिदीले १० रन बनाए ।
पहिलो विकेटका लागि उल हक र शाफिकले १३४ रनको शतकीय साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । अष्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिए भने प्याट कमिन्स र मार्कुस स्टोइनिसले समान २-२ विकेट लिँदा मिचेल स्टार्च र जोश हेजलउडको भागमा समान १-१ विकेट रह्यो ।

