नवकान्तिपुर संवाददाता
काठमाडौं,६ कार्तिक ।


भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा भारतले न्युजिल्यान्डलाई पराजित गरेको छ । आइतबार भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा भारतको यो लगातार पाँचौं जित हो भने न्युजिल्यान्डको पहिलो हार । धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघ रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २७३ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले १३० रनको शतकीय पारी खेले भने रचिन रविन्द्रले ७५ रनको अर्धशतकीय इनिङ्ग खेले ।
त्यस्तै ग्लेन फिलिप्सले २२ रन जोड्दा विल योङ्गले १७ रन बनाए । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिँदा जसप्रित बुमराह र मोहम्मद सिराजको भागमा समान १-१ विकेट रह्यो । २७४ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि विराट कोहलीले ९५ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्मा ४६ रन बनाए । यस्तै रविन्द्र जडेजा ३९ रनमा अविजित रहँदा श्रेयश अय्यरले ३३, केएल राहुलले २७ र शुभमन गिलले २६ रन जोडे । न्युजिल्यान्डका लागि लोकि फर्गुसनले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र म्याट हेनरीको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै पाँच खेलमा १० अंक जोेडेको भारत शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा आठ अंक जोडेको न्युजिल्यान्ड दोस्रो स्थानमा रहेको छ ।

