त्रिकोणात्मक टि-२० सिरिज : नेपालद्वारा युएई ५ विकेटले पराजित 

काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) लाई ५ विकेटले पराजित गरेको हो ।

जारी सिरिजमा नेपालको यो लगातार चौथों जित हो भने युएईको दोस्रो हार । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६४ रन बनाएको थियो । युएईका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रन बनाए भने आसिफ खानले १८ रन जोडे ।



नेपालका लागि सोमपाल कामी र अभिनास बोहोराले समान २-२ विकेट लिए भने करण केसी र गुल्सन झाको भागमा समान १-१ विकेट रह्यो । १६५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ दशमलव दुई ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि ओपनर असिफ शेखले ६२ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए ।  यस्तै दीपेन्द्रसिंह ऐरी ४० रनमा अविजित रहे ।

यूएईका लागि मोहम्मद जवादुल्लाहले २ विकेट लिए भने अकिफ राजा र जहूर खानको भागमा समान १-१ विकेट रह्यो । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो ।

सम्बन्धित समाचार