विश्वकप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, पाकिस्तान ८ विकेटले पराजित 

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । सोमबार भएको खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अफगानिस्तानले  ऐतिहासिक जित निकालेको हो  ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो जित हो भने पाकिस्तानको लगातार तेसो हार । चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले  ७४ र अब्दुल्लाह शाफिकले ५८ रनको अर्धशतकीय पारी खेले भने शादब खान र इफ्तिखर अहमदले समान ४०-४० रन बनाए ।



त्यस्तै साउद शकिल २५ रन बनाई आउट भए भने इमान उल हकले १७ रन जोडे । अफगानिस्तानका लागि नुर अहमदले ३ विकेट लिए भने नविन उल हकले २ विकेट लिँदा मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईको भागमा समान १-१ विकेट रह्यो । २८२ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रन, रहमत शाह र रहमानुल्लाह गुर्बाजले अर्धशतकीय पारी खेल्दै क्रमश:   ८७, ७७ र ६५ रन बनाए भने कप्तान हस्मतुल्लाह शाहिदी ४८ रनमा अविजित रहे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र हसन अलीले समान १-१ विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक अफगानिस्तानले पाकिस्तालाई पराजित गरेको हो । यसअघिका यी दुई राष्ट्रबीच भएको सात भेटमा पाकिस्तान विजयी भएको थियो । इंग्ल्यान्डलाई हराएर इतिहास रचेको अफगानिस्तानले इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गर्दै अर्को ऐतिहासिक जित निकालेको हो ।

सम्बन्धित समाचार