नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कार्तिक ।
विजया दशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज चतुर्दशीमा पनि जारी छ । दशैंको टीकाको चौथों दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ ।
कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसीयालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।