नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक ।


भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले पाँचौ जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई एक विकेटको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले प्रतियोगितामा पाँचौं जित निकालेको हो निकालेको हो ।
जारी प्रतियोगितामा पाकिस्तानको भने यो लगातार चौथो हार हो । चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा अल आउट हुँदै २७० रनमा समेटियो । पाकिस्तानका लागि साउद सकिलले ५२ र कप्तान बाबर आजमले ५० रनको अर्धशतकीय पारी खेले भने शादब खानले ४३ रन बनाए ।
त्यस्तै मोहम्मद रिजवानले ३१ रन जोड्दा मोहम्मद नवाजले २४, इफ्तिखर अहमदले २१ र इमान उल हकले १२ रन बनाए । दक्षिण अफ्रिकाका लागि ताबरेज शाम्सीले ४ विकेट लिए भने, मार्को जेनसनले ३ विकेट लिँदा जेराल्ड कोएटजीले २ र लुङ्गी एनगिडीको भागमा एक विकेट रह्यो । २७१ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि एडेन मार्क्ररमले ९१ रनको अर्धशतकीय पारी खेले भने डेविड मिलरले २९ रन बनाए । यस्तै कप्तान टेम्बा बाभुमाले २८ रन बनाई आउट भए भने क्विनटन डिककले २४, रस्सी भान डेर डुसेनले २१, मार्को जेनसनले २० बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट लिए भने तथा हरिस रौफ, मोहम्मद वसिम र उस्मा मिरको भागमा समान २-२ विकेट रह्यो ।
जितसँगै दक्षिण अफ्रिका ६ खेलमा ५ जित र १ हारसहित १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा २ जित ४ हारसहित ४ अंक जोडेको पाकिस्तान छैटौं स्थानमा रहेको छ ।

