नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक ।
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले चौथों जित निकालेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै अस्ट्रेलियाले प्रतियोगितामा चौथों जित निकालेको हो ।
जारी प्रतियोगितामा न्युजिल्यान्डको भने यो दोस्रो हार हो । धर्मशालास्थित हिमान्चल क्रिकेट संघ रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ३८८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले १०९ रनको शतकीय पारी खेले भने भने डेभिड वार्नरले ८१ रनको अर्धशतकीय पारी खेले । यी दुईले पहिलो विकेटका लागि १७५ रनको शतकीय साझेदारी गरे ।
त्यस्तै ग्लेन म्याक्सवेल ४१ रन बनाई आउट भए भने जोस इङ्लिसले ३८, कप्तान प्याट कमिन्सले ३७, मिचेल मार्सले ३६ रन जोडे । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान ३-३ विकेट लिए भने मिचेल स्यान्टनरले २ विकेट लिँदा म्याट हेनरी र जेम्स निशमको भागमा समान १-१ विकेट रह्यो ।
३८९ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ११६ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जेम्स निशमले ५८ र ड्यारिल मिचेलले ५४ रनको अर्धशतकीय पारी खेले भने विल योङ्गले ३२, डिभोन कोन्वेले २८, कप्तान टोम लाथमले २१, ग्लेन फिलिप्सले १२ र ट्रेन्ट बोल्ट १० रनमा अविजित रहे ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए भने जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिँदा ग्लेन म्याक्सवेलको भागमा एक विकेट रह्यो । जितसँगै अष्ट्रेलिया ६ खेलमा ४ जित र २ हारसहित ८ अंक जोड्दै चौथो स्थानमा छ भने समान खेलमा ८ अंक नै जोडेको न्युजिल्यान्ड रनरेटमा अस्ट्रेलियाभन्दा अघि रहँदै तेस्रो स्थानमा रहेको छ ।