नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कार्तिक ।
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई ८७ रनले पराजित गर्दै नेदरल्यान्ड्सले प्रतियोगिता दोस्रो जित निकालेको हो ।
जारी प्रतियोगितामा बंगलादेशको भने यो लगातार पाँचौं हार हो । कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२९ रमा समेटियो । नेदरल्यान्डका लागि कप्तान स्कट एडवार्डसले ६८ रन अर्धशतकीय पारी खेले भने विस्ली ब्ररेसीले ४१ रन बनाए । त्यस्तै साइब्रान्ड एन्गलब्रेच ३५ रन जोड्दा लोगन भान बिक २३ रनमा अविजित रहे ।
बंगलादेशका लागि सोरिफुल इस्लाम, तस्किन अहमद, मेहदी हसन र मुस्ताफिजुर रहमानले समान २-२ विकेट लिए भने कप्तान साकिब अल हसनको भागमा एक विकेट रह्यो । २३० रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेश ४२ं.२ ओभरमा अल आउट हुँदै १४२ रनमा समेटियो ।
बंगलादेशका लागि मेहदी हसन मिराजको ३५ रन बनाए भने महमुदुल्लाह र मुस्ताफिजुर रहमानले समान २०-२० रन बनाए । यस्तै मेहदी हसनले १७, तान्जिद हसनले १५ र तस्किन अहमदले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेदरल्यान्ड्सका लागि पउल भान मिक्रेनले ४ विकेट लिए भने बास डि लिडेले २ विकेट लिँदा आयर्न दत्त, लागन भा बिक र कोलिन एकरम्यानको भागमा समान १-१ विकेट रह्यो । जितसँगै नेदरल्यान्ड्स ६ खेलमा २ जित र ४ हारसहित ४ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ भने समान खेलमा १ जित र ५ हारसहित २ अंक जोडेको बंगलादेश नवौं स्थानमा रहेको छ ।