ट्वान्टी-२० विश्वकप एशिया छनोटमा नेपालको विजयी सुरुवात, सिङ्गापुर ८ विकेटले पराजित 

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । सिङ्गापुरका लागि ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए भने आर्यवीर चौधरीले ३७ रन बनाए । त्यस्तै मनप्रित सिंह २४ बनाई आउट भए भने अक्षय पुरीले १३ रन जोडे ।



नेपालका लागि अभिनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र करण केसीको भागमा समान २-२ विकेट रह्यो । १४६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो  । नेपालको लागि कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रनको अर्धशतकीय पारी खेले भने रोहित पौडेल ३५ रनमा अविजित रहँदा आसिफ शेखले २७ रन बनाए । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान १-१विकेट लिए ।

अब नेपालले दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिङ्गापुर र ओमान छन् । त्यस्तै समूह बी मा युएई, हङ्कङ, बहराइन र कुवेत रहेका छन् ।

सम्बन्धित समाचार