नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, लुङग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २८ वर्षीय नुम बहादुर रोकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रोकाले ती किशोरीलाई लुङग्री गाउँपालिका-६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले उनलाई तल्लो गुम्चालस्थित बाटोमा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी, पञ्चेश्वर गाउँपालिका- ४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।