नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । चितवन, राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको हो ।
त्यस्तै सिरहा, सखुवानान्कारकट्टि गाउँपालिका-५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि-११ बस्ने २९ वर्षीय सन्तोष कुमार महतोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।