नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
भारत आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५७ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ रनको र श्रेयश अय्यरले ८२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ३५ रन बनाई आउट भए भने केएल राहुलले २१ र सूर्यकुमार यादवले १२ रन जोडे ।
श्रीलंकका लागि दिलशन मदुशन्काले ५ विकेट लिए भने दुस्मन्था चमिराको भागमा एक विकेट रह्यो । ३५८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको श्रीलंका १९.४ ओभरमा ५५ रनमै अलआउट भयो । श्रीलंकाका लागि कासुन रजिथाले १४ तथा महेश तिक्क्षणा र एन्जेलो म्याथ्युजले समान १२-१२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि मोहम्मद शामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट लिँदा जसप्रित बुमराह र रविन्द्र जडेजाको भागमा समान १-१ विकेट रह्यो । लगातार सात जितसंगै भारत १४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक जोडेको श्रीलंकाको सातौं स्थानमा रहेको छ ।