नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, गोडैता नगरपालिका-१० सिसौटियास्थित सडकमा ना.५ त ६१८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ट्रयाक्टरका सह-चालक सोही ठाउँ बस्ने २८ वर्षीय शंकर पटेलको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका ट्याक्टर चालक सोही नगरपालिका- ७ बस्ने ४० वर्षीय अशेश्वर पटेलको प्रादेशिक अस्पताल मलंगवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य १ जनाको प्रादेशिक अस्पताल मलंगवा र अन्य १ जनाको तराई अस्पताल वीरगंजमा उपचार भइरहेको छ । त्यस्तै पाल्पा, निस्दी गाउँपालिका-७ मोटेखर्कस्थित सडकमा लु.२ ख ५२९ नम्बरको टिपरको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर बुधबार बिहान दुर्घटना हुँदा टिपरमा सवार पूर्वखोला गाउँपालिका-२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी आलेको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका घाइते भएका टिपर चालकसमेत ३ जनालाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासीमा पठाइएको छ । यस्तै महोत्तरी, एकडारा गाउँपालिका-१ एकडारामा प्र.२-०२-००२ प ८४१० नम्बरको मोटरसाइकलले मधेश प्र.०२-००६ प ९६४७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा प्र.०२-००६ प ९६४७ नम्बरको मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका-८ सानो रतवाडा बस्ने ५० वर्षीया गरतीया देवीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । प्र.२-०२-००२ प ८४१० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।