मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । ओखलढुंगा, चम्पादेवी गाउँपालिका-४ पुराना गाउँ घर भई सोही गाउँपालिका-६ डाडागाउँ छोरीको घरमा बस्दै आएकी ८८ वर्षीया नन्दमाया बुढाथोकी सोही ठाउँ कुईके पाखास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-४ लुस्लहरी बस्ने ५५ वर्षीय अण बहादुर सार्की सोही ठाउँ बस्ने सुनिल चौधरीको कोही नबस्ने घरको माथिल्लो तलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबार घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा सो घरमा शव फेला परेको हो ।



यस्तै बझाङ, बुंगल नगरपालिका-५ पौटास्थित कालङ्गा हाईड्रोपावरको मुल नहरको तेस्रो ढोकामा केदारस्यूँ गाउँपालिका-५ स्याडीखोला बस्ने ६२ वर्षीया माता देबी नेपाली शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यता इलाम, माई नगरपालिका-८ चौतारे बस्ने ५१ वर्षीय दिलिप कुमार लिम्बु सोही ठाउँस्थित तितिरी बोटे भिरभन्दा करिब ५० मिटर तल खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका-७ हनरिया बस्ने ३० वर्षीय जुगरु चौधरी सोही उपमहानगरपालिका-५ स्थित जनसेवा सामुदायिक वनमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा मालुको पात टिप्न उनीसँगै ५ जना गएकोमा जुगरु नदेखेपछि खोजी गर्ने क्रममा टाउको र मुखमा चोट लागि मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङसमेतबाट खटिएको प्रहरीले घटना सम्बन्धी सोधपुछका लागि ३ जना महिला र ८ जना पुरूषलाई नियन्त्रणमा लिएको छ ।

मृतकको छातीको भागमा भरुवा बन्दुकको ५ वटा छर्रा र पिठ्युमा १ ठाउँमा प्वाल परेको देखिएको छ । साथै मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गंण हे.क्वा.तौलिहवा कपिलबस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत सशस्त्र प्रहरी जवान भन्ने बुझिएको छ । उता झापा, अर्जुनधारा नगरपालिका-११ बस्ने ४३ वर्षीय बिकुल किसन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थहल नजिक बाटोको छेउमा हाल नाम, थर, वतन अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार