नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।
सरकारले कार्तिक २३ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
मन्त्रिपरिषद् बैठकले सरकारले निर्माणाधीन तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत समेट्ने गरी प्रक्रिया अगाडि बढाउने, पूर्णक्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहित प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
सरकारले निर्माणाधीन विराटनगर, मूलपानी र भरतपुरको क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत समेट्नेगरी प्रक्रिया अगाडि बढाउने निर्णय
पूर्णक्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहित प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय
प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्का सदस्यहरुले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावितहरुको सहयोगार्थ एक महिनाको पारिश्रमीक प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुखसचिव नारायणप्रसाद शर्मा दुवाडीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय
सहसचिव डा हरिप्रसाद लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा कायम मुकायम मुकरर गर्ने निर्णय
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत पदमा नियुक्त गर्न सिफारिस
एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने करिब रु १३ अर्ब २६ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय
सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यालयका लागि तराईमा छ बिघा आठ कट्ठा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय
अष्ट्रियाको भियानमा आगामी मङ्सिर १२ देखि १५ गतेसम्म हुने ९१औँ इन्टरपोल महासभामा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहाललाई सहभागी हुन स्वीकृति दिने निर्णय
भूकम्पपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय
अजरबैजानको बाकुमा हुने ‘इन्टरनेश्नल कन्फ्रेन्स एडभान्सिङ द राइट एन्ड इम्पावरमेन्ट अफ ओमन’ विषयक कार्यक्रममा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय
नेपाल र कतारबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय
जैविक विविधता एवं प्रजाती संरक्षणको दृष्टिले महत्त्वपूर्ण पाँच औलेलगायत अन्य जडीबुटी तथा रुख प्रजातिको सङ्कलन, कटान, उपभोग, ओसारपसार, बिक्रीवितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउनेसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय
संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठनको आयोजनामा आगामी मङ्सिर २० देखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा हुने ‘कन्सर्टिङ एक्सन टुवर्स एग्रिफुड सिस्टम ट्रान्सफर्मेसन कार्यक्रममा राष्ट्रिय योजनाका सदस्य डा जयकान्त राउतलाई सहभागी हुन स्वीकृत गर्ने निर्णय
मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय
मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने निर्णय
संलग्न नेपाल सरकार र जापान सरकारबीच हुने प्राविधिक इन्टर्न तालिमसम्बन्धी द्विीपक्षिय समझदारी पत्र स्वीकृत गर्ने निर्णय
भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको सुशासित क्षेत्र तिब्बतको सिगात्सी शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न भरतपुर महानगरपालिकालाई स्वीकृति प्रदान गर्ने निर्णय