जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६५ जना पक्राउ

काठमाडौं, सुर्खेत, अछाम र उदयपुरका विभिन्न स्थनाबाट जुवातास खेलिरहेको अवस्थामा ६५ जना पक्राउ परेका छन् ।

काठमाडौं, नागार्जुन नगरपालिका-३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४० वर्षीय श्याम बाबु तामाङसहित २२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।



त्यस्तै सुर्खेत, चौकुने गाउँपालिका-६ जुम्ल्याहामुल बस्ने ३२ वर्षीय दिपेन्द्र कुमार बिसीको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन्द्रसहित २७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुटु र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ७ सय ९२ रूपैयाँ, ३८ गड्डी तास र मोबाइल २३ थानसहित पक्राउ गरेको हो ।

यस्तै अछाम, मंगलसेन नगरपालिका-९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावलसहित ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यता उदयपुर, चौदण्डीगढी नगरपालिका-७ कल्याण चोकस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय वयान राईसहित ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ३ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाई बजारमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय अजित कार्कीसहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ६० रूपैयाँ र १६ पिस कौडासहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार