नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मङ्सिर ।
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइपछि मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । मंसिर १९ मा पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।
सरकारले गत कात्तिक २७ गते टिकटकले सामाजिक सद्भाव बिथोलेको, हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी प्रचारप्रसार गरेको भन्दै सामाजिक प्लेटफर्म टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतमा टिकटक प्रतिबन्धको सरकारको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १३ रिट निवेदन दर्ता भएका थिए ।
१२ रिट निवेदनमा टिकटक प्रतिबन्धको निर्णय खारेजी माग गरिएको थियो भने १ रिट निवेदनमा नियमन गरेर मात्रै टिकटक प्रतिबन्ध खोल्नुपर्ने माग थियो ।