नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफलभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यस्तै भेटमा उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको थियो ।
उनीहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो । तत्कालीन नेकपा(माओवादी) र प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबीच २०६३ मङ्सिर ५ गने शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।