नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले भनेका छन्– ‘संविधान धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रता र विना हतियार शान्तिपूर्ण भेला हुने मौलिक अधिकार तथा स्वतन्त्रताको कानुनी प्रक्रियाबाहेक कहीं कतैबाट नियन्त्रण वा प्रतिबन्ध गरिनु संविधानको ठाडो उर्लङ्घन र उपहास हो ।
उनको यो अभिव्यक्ति दुर्गा प्रसाईलाई संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न नदिई प्रशासनले उनलाई घरमा नै नजरबन्द गरेर राखेको परिप्रेक्षमा आएको हो ।
केसीले अगाडि भनेका छन्– ‘विरोध र समर्थन दुवै स्वतन्त्रता लोकतान्त्रिक पद्धतिका नैसर्गिक अधिकार हुन् । आजको अव्यवस्था, व्याप्त भ्रष्टाचार, असफलताउन्मुख आर्थिक स्थिति, आकासिंदो मूल्य वृद्धि, बेरोजगारी, विधिविहिनता र चरम दण्डविहीनताको उपचार दमन र संवैधानिक प्रावधानबिरुद्ध निषेध, पक्राउ वा प्रतिबन्धजस्ता निरङ्कुशता हुँदै होइन ।’
‘आम जनमानसमा चुलिएको निराशा र आक्रोशको समयमै सम्बोधन गर्नु तत्कालीन आवश्यकता हो । कसैमाथि दोष थोपर्दैमा उन्मुक्ति पाइन्न, समयले कसैलाई पर्खंदैन । सरकार तथा नीति निर्माणकर्ता सिन्डिकेट यतातिर गम्भीर बन !’ केसीले भनेका छन् ।