नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलाली, लम्कीचुहा नगरपालिका-३ बल्चौरमा सु.प.प्र.०१-००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिका बादीटोल बस्ने ५९ वर्षीय कर्ण बहादुर वादीको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै झापा, गौरादह नगरपालिका-२ कार्की चोकस्थित सडकमा अन टेस्ट लेखिएको पिकअप गाडीले गौ.न.पा.५३ नम्बरको सिटी सफारीलाई मंगलबार दिउँसो ठक्कर दिँदा सिटी सफारी चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी सफारीमा सवार २ जनालाई म्याडिम्याक्स अस्पताल गौरादह र पिकअप चालकलाई दमक अस्पताल दमकतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।