हाम्रो नियति : उदाहरण दिने सिङ्गापुरको, बनाउने भद्रगोल

नेपाली जनता गरिबीले भन्दा पनि नेताहरूको दरिद्र सोच र छुद्र व्यवहारका कारण बढी प्रताडित छन् । नेपालमा जनताको जीवनस्तर उकास्ने कुरा र मुलुकलाई समृद्ध बनाउने कुरा भोट माग्ने अस्त्र मात्र बनेका छन् । प्राकृतिक बनोटका हिसाबले नेपाली भूगोल संसारकै भू–स्वर्ग मानिन्छ तर क्षमताहीन र विवेक शून्य नेताहरूका कारण नेपाली जनता प्रताडित छन् । यो कुनै नेताविशेषलाई होच्याउन दिइएको अभिव्यक्ति नभएर तीतो भोगाइको नमिठो अभिव्यञ्जना मात्र हो ।

विद्वानहरू भन्ने गर्छन्– खाडी मुलुकहरूले तेल बेचेरै समृद्धि हासिल गरेझैं कृषि र पर्यटनको विकासले मात्र नेपालले पनि त्यस्तै समृद्धि हासिल गर्न सक्छ । नेपालको पानी, वनजङ्गल, जडीबुटी तथा भूगर्भमा रहेको खनिज पदार्थ आय–आर्जनका अन्य स्रोत बन्न सक्छन् । तर नेपाललाई समृद्ध बनाउने सवालमा यी क्षेत्रमा कुनै ठोस काम हुन सकेको छैन । दलका नेताहरूको त कुरै छोडौं, सरकारमा पुगेकाहरूले समेत आफ्नो दुनो सोझ्याउनेबाहेक देश र जनतालाई दीर्घकालीन प्रभाव पार्ने केही काम गर्न सकेका छैनन् ।



हिजो व्यवस्था निरङ्कुश थियो, जनताले तिरेको राजश्व दरबारले दुरुपयोग गर्थ्यो । आज त जनताका छोरा छोरी राष्ट्रपति, प्रधानमन्त्री र देशको नीति निर्माण गर्ने ठाउँमा पुगेका छन् । काँग्रेस, एमाले, माओवादीले आलोपालो सत्ताको स्वाद लिइसकेका छन्, तर उनीहरूले आम जनतालाई अनुभूति हुने खालको परिवर्तनको अनुभव गराउन सकेनन् । कुरा ठूला गरेर मात्र के गर्नु ? कुराले चिउरा भिज्दैन ।

अहिले व्यवस्था निरङ्कुश छैन, विकास विरोधी दरबार पनि छैन l त्यसो भए नेपालको विकास र समृद्धि गर्न नेतृत्वलाई केले रोक्यो त ? नेतृत्व गर्नेहरूले जवाफ दिनु पर्दैन ?

केवल गफकै लागि भए पनि विकास मोडेलको कुरा गर्दा नेताहरू नेपाललाई सिङ्गापुर बनाउने कुरा गर्दछन् । तर सिङ्गापुर रातारात बनेको होइन र गफले मात्र नेपाल सिङ्गापुर बन्दैन । एउटा गरिब, विकासका पूर्वाधारसमेत केही नभएको सिङ्गापुर कसरी संसारकै समृद्धशाली र सुन्दर देश बन्न पुग्यो ? सिङ्गापुरको समृद्धिको यात्रालाई छोटकरीमा स्मरण गरौं ।

सिङ्गापुर :विकासको रोल-मोडेल
सन् १९६० (विसं २०१७) सम्म सिङ्गापुर बेलायतबाट शासित एउटा अति विपन्न राष्ट्र थियो । ७ सय १० दशमलव २ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो मुलुक सन् १९६५ (विसं २०२२) सम्म कुनै हिन्दी फिल्ममा देखाएने झोपडपट्टीको दृश्यजस्तो मात्र थियो । सन् १९६३ अगष्ट ३१ का दिन बेलायती उपनिवेशबाट स्वतन्त्र र स्वाधीन भए पनि आर्थिक, सामाजिक र राजनीतिक दुरावस्थाका कारण एउटा स्वतन्त्र मुलुकका रूपमा सिङ्गापुरले आफूलाई टिकाउन सकेन र तत्कालीन सिङ्गापुरका नेताहरूले सहमति गरेरै आफ्नो स्वतन्त्र देशलाई छिमेकी मुलुक मलेशियामा विलय गराउने निर्णय गरे । सिङ्गापुर मलेशियाको अभिन्न अङ्ग बन्यो तर पनि लामो समयसम्म टिक्न सकेन । सन् १९६५ अगष्ट ९ तारिखका दिन सिङ्गापुर मलेशियाबाट अलग भयो र पुनः एउटा स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त गर्यो ।

आफ्नो देश मलेसियाबाट अलग भएर एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र बन्दा पनि सिङ्गापुरका नेताहरू भने खुसी थिएनन्, किनभने उनीहरूका अगाडि चुनौतिका पहाडहरू थिए । मुलुकलाई अब कसरी अगाडि लैजाने भनेर चिन्तन गरिरहेका समयमा लथालिङ्गे अवस्थाको सिङ्गापुरमा प्रधानमन्त्रीको रूपमा ली क्वान यु थिए । उनले चुनौतिहरूका बीच पनि सिङ्गापुरलाई नयाँ ढङ्गबाट अगाडि बढाउने सङ्कल्प गरे र त्यसै अनुरूप आफू गतिशील भए ।

ली क्वान युका मार्गमा प्रशस्त अवरोधहरू पनि आए, तर उनको सुझबुझ र दूरदृष्टिका कारण सिङ्गापुरले नयाँ जीवन र नयाँ स्वरूप पाउँदै गयो । समयसँगै सिङ्गापुरको विकासले यसरी फड्को मार्यो कि मलेशियाबाट स्वतन्त्र हुँदा कङ्गाल अवस्थामा रहेको सिङ्गापुर भौतिक विकास र समृद्धिले मलेसियालाई उछिन्न पुग्यो । सिङ्गापुर अहिले संसारकै लागि विकासको रोलमोडेल बनेको छ, भू–स्वर्ग बनेको छ । सन् २०१९ को तथ्याङ्कको आधारमा त्यहाँ प्रतिव्यक्ति आय ६५ हजार २२७ डलर रहेको छ । मलेसियाबाट स्वतन्त्र हुँदैगर्दा त्यहाँको प्रतिव्यक्ति आय ५०० डलरमात्र थियो ।

असल नेतृत्वको पहिचान मुलुक सङ्कटमा परेकै बेला हुने हो र जनताको मन मुटुमा बस्ने पनि त्यस्तै नेताहरूले मात्र हो । ली क्वान युले आर्थिक, सामाजिक र राजनैतिक रूपले पिछडिएको मुलुकलाई संसारकै नमुना मुलुक बनाएर देखाइदिए । समृद्धिको सपना र त्यस सपनालाई पूरा गर्ने दृढ ईच्छाशक्ति नेताहरूमा हुने हो भने असम्भव केही छैन भन्ने कुराका लागि सिङ्गापुर एउटा सुन्दर उदाहरण हो ।

छोटै समयमा समृद्धिको शिखरमा पुगेका देशहरूमा मलेशिया अर्को उदाहरण हो भने मरुमूमि नै मरुभूमि भएर पनि भौतिक विकासले गगन चुमेका एशियाली अन्य देशहरूमा युएई, कतार, बहराइन आदि राम्रा उदाहरणहरू हुन् । नेपालसँग पनि प्राकृतिक रूपमा नै अनेकौं सम्भावनाहरू छन् तर ती सम्भावनाहरूलाई पहिचान गरेर समृद्धिको मार्गचित्र कोर्ने नेताहरूको भने अभाव देखियो । नेपालका नेताहरू त ढोडका तोक्मा मात्र सावित भए । नेपाललाई सिङ्गापुर बनाउने सपना देखाएर भद्रगोल बनाइदिए ।

मुलुक समृद्धशाली बन्न आकारले मात्र केही माने नराख्दोरहेछ भनेर पनि सिङ्गापुरले देखाइदियो । नेपालभन्दा सिङ्गापुर झण्डै २०५ गुणा सानो छ । यत्ति सानो देश सिङ्गापुर विकास र समृद्धिमा भने संसारका ठूला र विकसित मुलुकहरूभन्दा अगाडि छ । छिमेकी देश चीन र भारतसँग तुलना गरेर नेपाललाई सानो देश भन्ने गरिन्छ तर नेपाल सानो होइन, यहाँका नेताको भिजन सानो हो । हामीले ढुक्क हुँदा हुन्छ– नेताहरूको यही तालले नेपाल कहिल्यै समृद्धशाली देशहरूको सूचीमा पर्ने छैन । नेतृत्व गर्नेहरूको विचार र आचरणमा क्रान्तिकारी परिवर्तन नआएसम्म केही हुनेवाला छैन ।

नेपालको लोकतन्त्र सीमित व्यक्तिका लागि लुटिखाने भाँडोमा सीमित बन्यो । नेपाली जनतामा अहिले देखिएको वितृष्णा व्यवस्थाप्रति भन्दा नेतारूप्रति बढी हो । नेताहरूको प्रवृत्तिमाथिको वितृष्णा हो । गलत नेतृत्वका कारण व्यवस्था कलङ्कित हुने भएकोले अहिले व्यवस्था विरोधी नारा लाग्न थालेका हुन् । नेताहरूले हिजो जतिसुकै महान् काम गरेका भए पनि वर्तमान अवस्थामा समयसापेक्ष काम गरेनन् भने जनताले उनीहरूलाई कुर्सी र पदबाट सधैंका लागि फ्याँकिदिन सक्नेछन् । जनताको धैर्यताको परीक्षा नलिए हुन्छ ।

व्याजका नाममा नेताहरूले आजीवन देश लुट्ने छुट पाउनु हुँदैन । असक्षम र गलत नेतृत्वका कारण आज कोही दुर्गा प्रसाईका पछाडि हिड्न बाध्य छन् भने भोलि अरू कसैका पछाडि हिँड्न सक्छन् । परिवर्तनको गति रोकिनेवाला छैन ।

अहिले पुराना र स्थापित दलहरूसँग आबद्ध जनता सबै आ–आफ्नो नेतृत्वको नियत र कार्यशैलीबाट क्षुब्द र निराश छन् । यस अवस्थामा निराश, आक्रोसित र पीडित जनताले रातारात पुराना नेताको स्थानमा नयाँ नेता जन्माउन सक्नेछन् । जनताको सामर्थ्यलाई कसैबाट पनि नजरअन्दाज गर्ने कार्य नगरियोस् । कुर्सीमा राख्न सक्नेले कुर्सीबाट गलहत्याउन पनि सक्नेछन् ।

सम्बन्धित समाचार