नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।
रूसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालय जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ जना नेपाली नागरिकको मृत्यु भएको जानकारी दिएको हो ।
‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ ।
रूस-युक्रेन युद्धमा परी मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, मन्त्रालयले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
विज्ञप्ति