नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।
युएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।
संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुबइको आइसिसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङगरेको नेपालले ४७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय पारी खेले भने दीपेश कँडेलले ३१ रन बनाए । यी दुईले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै ओपनर अर्जुन कुमालले २१ रन बनाई आउट भए । खराब सुरुवात गरेको नेपालले १७ ओभरमा ४६ रन मा पाँच विकेट गुमाएको थियो । पाकिस्तानका लागि मोहम्मद जिशानले ६ विकेट लिए भने अमिर हसनले २ विकेट लिँदा उबेद शाह र अली असफन्दले समान १-१ विकेट रह्यो ।
१५३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि आजन आविसले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले भने कप्तान साद बैगले ५० रन बनाए । यस्तै मोहम्मद जिशान २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले २ विकेट लिए भने आकाश त्रिपाठीको भागमा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल यही मङ्सिर २४ गते अफगानिस्तानतसँग खेल्नेछ ।