सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काभ्रे, पाँचखाल नगरपालिका-६ हनुमानगढीस्थित सडकमा बा.८७ प ६४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई प्र.३- ०१- ००५ ख ९७०३ नम्बरको गाडीमा ठक्कर खाएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक पनौती नगरपालिका-१२ बस्ने ३४ वर्षीय रुपक खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै प्युठान, ऐरावती गाउँपालिका-२ बरौलास्थित सडकमा लु.३ च ६८४७ नम्बरको गाडीको ठक्करबाट मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ५२ वर्षीय दामोदर परियारको बिहीबार बिहान मृत्यु भएको छ । गाडीको टायर पड्कीएर ब्रेक फेल भई जन्तीमा सहभागी भईरहेका व्यक्तिहरूलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।



घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमरास्थित सडकमा भे।७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका-३ बस्ने ३० वर्षीय कृष्ण सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनमा घाइते भएका २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । यता धनुषा, लक्ष्मिनिया गाउँपालिका-४ सपही पुलस्थित सडकमा प्र.२-०२-००२ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमला नगरपालिका-८ सोनपारा बस्ने २५ वर्षीय भरत सहनी समेत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि न्युरो अस्पताल जनकपुर रिफर गरिएको छ । उता मकवानपुर, भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा प्रदेश ३-०२-००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने २५ वर्षीय बिकल सारु मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार