नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, इच्छाकामना गाउँपालिका-५ स्थित सडकमा बा.४ ख ४११९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ३ सय फिट तल भिरमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बस्ने ४० वर्षीय अनिल गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप ओरालोमा ना.६ ख १९१६ नम्बरको ट्रकले बा.प्र ०२-०३० प ३०३६ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका-७ घर भई चन्द्रागिरी नगरपालिका-९ बस्ने ३ वर्षीय रियान्स सुबेदीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरी, सुरुङ्गा नगरपालिका-७ पोखरियास्थित सडकमा स.१ त ७४७३ नम्बको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामनारायण साहको मृत्यु भएको छ । खेत जोत्न जाने क्रममा अचानक दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यता कञ्चनपुर, भिमदत्त नगरपालिका-१५ गोबरियास्थित सडकमा म.२ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१६ मझगाँउ बस्ने २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।