नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्नेहरू चितवन रत्ननगर नगरपालिका-१६ घर भएका ४० वर्षीय नविन खड्का र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ घर भएकी ३३ वर्षीया चमेली चुहान रहेका छन् ।
उनीहरूले १ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइ प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं नयाँबानेश्वरबाट र चुहानलाई
काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।