नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सर्लाही, विष्णु गाउँपालिका-६ स्थित सडकमा बीआर ३० डब्लु ६३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कौडेना गाउँपालिका-६ सक्रौल बस्ने २० वर्षीय ईन्दल सहनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-१ वनकसवासामा लु.९२ प ९८१५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीया खिमा बिकको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कपिलवस्तु, बिजयनगर गाउँपालिका-५ देविपुरमा लु.७३ प ६९०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ जुटपानी बस्ने २० वर्षीय मणिराम जैसवालको आइतबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सन्जिवनी हस्पिटल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै काभ्रे, पनौती नगरपालिका-१ बुढापोखरीस्थित सडकमा बा.४१ प २५३२ नम्बरको स्कुटर अनियन्त्रित आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मंगल बहादुर श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको उपचारको लागि शिरमेमोरियल अस्पतालमा पठाइएको छ । यता कैलाली, धनगढी उपमहानगरपालिका-१८ ई गाँउस्थित सडकमा से.५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय पुष्प बहादुर कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता कञ्चनपुर, बेदकोट नगरपालिका-६ सुडामा से।१ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने बैतडी दोगडा केदार गाउँपालिका घर भएका असोक चन्दको छोरा ६ वर्षीय लव चन्दको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।