नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ पुस ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित सडकमा बा.प्र.०१-००६ ख ४५९३ नम्बरको बस र बा.६० प ३५४५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङ दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ बस्ने २० वर्षीय सुसन राईको आत्मिय अस्पताल खाल्टे सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कैलाली, भजनी नगरपालिका-७ हिम्मतपुरस्थित सडकमा सु.प.प्र.०१०-०११ प ८०४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका-९ गदरीया बस्ने ४२ वर्षीय रतीराम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै झापा, कमल गाउँपालिका-४ ज्योती चोकमा मे.११ प २०५१ नम्बरको स्कुटर र को.१ ख ६४३५ नम्बरको बस एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बुद्धशान्ति गाउँपालिका-२ बस्ने ५० वर्षीय टेकनाथ खटिवडाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।