नेपाल सुपर लिगको उपाधि ललितपुरलाई, धनगढी ३-२ ले पराजित   

ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको धनगढीले रु २० लाखमा चित्त बुझायो । पहिलो संस्करणमा पनि धनगढी उपविजेत्मै सिमित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरको लागि इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे । यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी समान १-१ गोल गरे ।



खेलमा ३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रत दिलाएका थिए । तर खेलको पहिलो हाफको अत्तिरिक्त समयमा इमोह इजेकेलले एक गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेशले गोल गर्दै ललितपुरलाई २-१ अग्रता दिलाए । यस्तै खेलको ५८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा इमोह इजेकेलको गोल मार्फत ललितपुरलाई ३–१ अले अघि रह्यो ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि त्यो ढिलो भैसकेको थियो र खेल ललितपुरले ३–२ गोलको जित निकाल्दै पहिलो पटक नेपाल सुपर लिगको उपाधि जित्न सफल भयो  । त्यसअघि खेलको ७९ औं मिनेटमा धनगढी १० खेलाडीमा सिमित भयो । धनगढीका रिर्चड ओसेइ आग्यमनले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

त्यस्तै प्रतियोगिताको वीरगञ्ज युनाइटेडले फेयर प्लेको उपाधि जितेको छ भने उदीयमान खेलाडीको उपाधि धनगढीका रोहन कार्कीले पाउँदा ललितपुरका जेफ्री विली मार्सल बाल्टुस सर्वोत्कृष्ट गोलकिपर घोषित भएका छन् । यी दुवैले जनही एक लाख रुपैयाँ पाए ।

यस्तै प्रतियोगितामा ६ गोल गरेका ललितपुर सिटी एफसीका इमोह इजेकेल सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसँगै एक लाख रुपैयाँ पाए भने ललितपुरका कप्तान अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बलसँगै २ लाख रुपैयाँ पाएका छन् ।

 

सम्बन्धित समाचार