नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताएका छन् ।
बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो ।
‘हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो’, सोमबार एक सैन्य अस्पतालको भ्रमणका क्रममा पुटिनले भने । रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्नका लागि दबाब बढाउने उनको भनाइ थियो ।
मस्कोले युक्रेनमा गरेको आक्रमणको करिब दुई वर्षपछि राष्ट्रपति पुटिनले भने, ‘हामी आज त्यो गर्दैछौँ र भोलि पनि हामी यस्तै गरिरहने छौँ ।’ रुसले नयाँ वर्षको दिन आफूमाथि ‘रेकर्ड’ सङ्ख्यामा ड्रोन हमला गरेको युक्रेनले बताएपछि पुटिनको सो भनाइ आएको हो ।
पुटिनले बेलगोरोड हमलालाई ‘आतङ्कवादी हमला’ भने । ‘नयाँ वर्षको पूर्वसन्ध्याभन्दा ठीकअघि मानिसहरू टहलिरहेको सहरको केन्द्रमा’ निशाना बनाएको उनले आरोप लगाउए ।
उनले रुससँग ‘आफ्ना समस्याहरू सुल्झाउन’ पश्चिमी मुलुकहरूले युक्रेनलाई प्रयोग गरिरहेको दाबीलाई दोहोर्याए । उनले द्वन्द्वमा ‘रणनीतिक पहल’ रुसको पक्षमा भएको विश्वास गरेको बताए ।
इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार उनले भने, ‘कुनै पनि अवस्थामा मलाई यस्तो प्रकारको जानकारी दिइन्छ र कुनै पनि आक्रामक कारबाही शत्रुको पराजयपछि गर्नुपर्छ भन्ने कुरामा म सधैँ जोड दिन्छु ।’