नवराज घिमिरे
काठमाडौं, १८ पुस ।
देशमा संसदीय अङ्क गणितका हिसाबले पहिलो र ठूलो दल नेपाली काङ्ग्रेस हो । थोरै सिटले पछाडि रहेको नेकपा एमाले विगत एक वर्षदेखि सत्ता बाहिर छ, पावरलेस छ । सत्ताबाहिर बस्ताको छटपटीले एमालेलाई पीडा बोध भइरहेको कुरा बुझ्न गाह्रो छैन । एक वर्षअगाडि एमालेले काङ्ग्रेससँगको गठबन्धनबाट माओवादीलाई अलग्याएर प्रधानमन्त्री बनाउने भूमिका खेले पनि लामो समय सत्तामा रहन पाएन् । काङ्ग्रेसले आफनो गल्ती स्वीकार गर्दै माओवादीलाई विश्वासमा लिन सकेपछि एमाले सत्ताबाट बाहिरिन पुग्यो ।
सत्ताबाट बाहिरिँदाको पीडाले एमाले बर्बराउदै छटपटिन थालेको छ, पानी विनाको माछोझै हुनपुगेको छ । उसका कतिपय कार्यहरुले त्यो देखाउदै आएको छ, जुन कुरा कतै छिपेको छैन । काङ्ग्रेसले गठबन्धनलाई विश्वासको मत दिएर राष्ट्रपति आफ्नो पोल्टामा पारेपछि एमाले सत्ता र शक्ति दुबैबाट टाढिन पुग्यो । एक वर्षमा केन्द्रदेखि प्रदेशसम्मका सबै सत्ता गुमाउन पुग्यो ।
पहाडी जिल्लामा आफनो कार्यक्रम सकेर एमालेका शीर्ष नेताहरु भर्खरै मात्र काठमाडौं फर्किएका छन् । सत्ता गठबन्धनमा विश्वास भइरह्यो भने यो गठबन्धनले अझै केही समय निरन्तरता पाउने छ । तर एमाले यो गठबन्धनको एक वर्षमा आफूलाई मन बुझाउँने ठाँउ कतै देखिरहेको छैन । त्यसैले एमाले काङ्ग्रेस र माओवादीसँग चरम ईष्र्या र आवेग देखाएरहेको भान हुन्छ । र, ऊ विद्यमान गठबन्धन भत्काउने रणनीति बनाउँदै छ, ता कि काङ्ग्रेस सभापति देउवासँग निकट सम्बन्ध बनाउदै प्रचण्डलाई सत्ताबाट बाहिर फाल्न सकियोस्
शेरबहादुरलाई प्रधानमन्त्री स्वीकार गरेर सत्ता साझेदार बन्न एमाले आतुर छ । एमाले नेताहरु वर्तमान सरकार असफल भइसकेको टिप्पणी सार्वजनिक कार्यक्रममा गर्न थालेका छन् । उनीहरूको बुझाइमा सरकार सबै क्षेत्रमा असफल भइसकेको छ ।
प्रधानमन्त्री प्रचण्ड स्वयम्ले एक वर्षको कार्यसमीक्षा गर्दै राष्ट्रको नाममा सम्बोधन गर्दा पनि घुमाउरो शैलीमा सरकारले सोचेजति गर्न नसकेको स्वीकार गरेका छन् । प्रमले छलाङ मार्छु भने पनि ऐतिहासिक काम गरेर इतिहास बनाउछु भने पनि प्रधानमन्त्रीको कार्यभार सँमाल्दैगर्दा गरेको बाचा एक वर्षमा नै मिथ्या सावित भएको छ । देशको अर्थतन्त्र दयनीय भएको छ भने वेथिति, भ्रष्टाचार र महङ्गीले सीमा नाघेको छ । सुशासन कायम गर्न सरकार असफल भएको छ ।
सरकारका कारण जनतामा यति ठूलो निराशा इतिहासमा कहिल्यै देखिएको थिएन । यो देशमा भविष्य नदेखेर दिनानुदिन हजारौको सख्यामा युवाहरु विदेश उड्न बाध्य छन् । यसरी वर्षेनी युवा पलायन हुनु राज्य असफल हुनुको एउटा सङ्केत हो । देशको लागि सरकारहरू घाँडो भइसकेका छन् । जनतामा चरम निराशा र आक्रोसले सीमा नाघ्दो छ । बालकुमारीको घट्ना युवाहरूको असंयमित आक्रोशको अभिव्यक्ति हो भने सरकारको नालायकीपनको लाचार तस्वीर हो ।
निजीकरणका नाममा देशका उद्योगधन्दाहरू बेचीसकेपछि युवाहरूले रोजीरोटीको व्यवस्था गर्न विदेशिनु उनीहरूको बाध्यता हो तर रेमिट्यान्सको भरमा चलेको सरकारले रेमिट्यान्सका स्रोतमा नै गोली ठोक्यो । सामान्य आक्रोश देखेर आत्तियो र आफ्नै नागरिकमाथि गोली वर्षाउने आदेश दियो । सरकारसँग संवेदना हराउँदै गएपछि ‘महान् जनता’माथि गोली ठोक्नु आम बात हुन थाल्छ । यस्ता घटनाले सरकारको काउण्ट–डाउनलाई बल दिए पनि सम्भावित आउने सरकार पनि उही ड्याङको मुला हुने भएपछि जनतालाई भने सरकार बदलिनु कागलाई बेल पाके सरह हुने छ ।
प्रम प्रचण्डका ‘ऐतिहासिक’ काम देखेर गठबन्धन दलभित्रै खटपट शुरु भएको आभास पाइएको छ । गठबन्धनभित्रको ठूलो दल नेपाली कङ्ंग्रेसभित्र प्रचण्डको विकल्प खोज्न आवाज उठन थालिसकेको छ । काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रचण्डलाई खुमलटार पुर्याउने तागत काङ्ग्रेससँग छ भनेका छन् । काङ्ग्रेस, एमालेका नेताहरु यो सरकारको विकल्पको खोजी गर्ने कार्यमा जुटिसकेको एमाले तथा काङ्ग्रेसका दोस्रो तहका नेताहरुले बताउन थालेका छन् ।
एमालेको नयाँ रणनीति
काङ्ग्रेस–एमाले सरकार
एमालेले सत्ता गठबन्धनमा छिरेर दलहरूबीच फाटो ल्याउने, काङ्ग्रेसलाई गठबन्धनबाट अलग गराउन देउवालाई प्रधानमन्त्रीको कार्ड फ्याँक्ने र काङ्ग्रेस एमाले मिलेर सरकार बनाउने । यसरी माओवादीलाई सडकमा पुर्याएर हिजो उनीहरूले काङ्ग्रेससँग मिलेर दिएको धोकाको बदला काङ्ग्रेससँगै मिलेरै दिने र आफूहरू सरकारमा गएर सरकारका विभिन्न निकायमा आफ्ना मान्छेहरू सेटिङ गर्ने । यो सुनौलो अवसरको फाइदा लिनुपर्ने मोडमा एमाले पुग्नु र काङ्ग्रेसका केही नेताहरूले यस कार्यमा एमालेलाई साथ दिने वातावरण बन्नु संयोग मात्र नहुन सक्छ ।
एमाले–माओवादी सरकार
पहिलो योजना विफल भयो र काङ्ग्रेसले तत्काल यही गठबन्धनको सरकारलाई निरन्तरता दिने अवस्थामा पुग्यो भने एमालेले माओवादीलाई विश्वासमा लिने रणनीति बनाउने । यस योजनामा देउवालाई पुनः प्रधानमन्त्रीका रूपमा स्वीकार्न नचाहने एमालेभित्रका केही नेता लागिपरेका छन् । यस योजनामा भित्री रूपमा काङ्ग्रेसकै केही नेताहरूले पनि अदृश्य रूपमा साथ दिन सक्छन् । यस योजनामा प्रचण्डलाई विश्वासमा लिन सके एमाले आफ्नो रणनीतिमा सफल हुने देखिन्छ ।
प्रधानमन्त्री पदका लागि प्रचण्ड कति लोभी छन् भनेर बुझेका ओलीेले चुनावपछिको पाँच वर्ष एकलौटी रूपमा प्रचण्डलाई सरकार चलाउन दिने कार्ड फ्याँकेर उनलाई विश्वासमा लिन सक्छन् । यसो भएमा एमालेको नेतृत्वले चुनाव गराउने छ । दाउपेजका माहिर ओलीले चुनावलाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने छैनन् । यस कदमले एमालेको साख बचाउन सञ्जिवनी बुटीको काम गर्ने छ । चुनावपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा त भविष्यको गर्भमा रहला तर यो एउटा अचुक चाल भने अवश्य हुन सक्छ । यसरी ओलीको दम्भले एमाले सक्किन लाग्यो भन्नेहरूको मुखमा बुझो लगाउने काम पनि ओली स्वयम्ले गर्न पाउने छन् । त्यसैले एमालेको यो रणनीति पनि पार्टी हितका दृष्टिले कम महत्वपूर्ण हुने छैन ।
तर प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चेयर’ बनाएर दाहाल, देउवा र ओली मात्र कुर्सीको ओरिपरि घुमिरहने हो भने देश र जनतालाई कुन शक्तिले बचाउने हो, थाहा छैन । समृद्धिको सपना कसले पूरा गरिदिने हो, थाहा छैन । बेरोजगार युवाशक्तिलाई बेचिनबाट कसरी रोक्ने हो, थाहा छैन । यी तीनमध्ये जो प्रधानमन्त्री भए पनि देश र जनतालाई केही फरक पर्नेवाला छैन । नयाँ आउनलाई राजनैतिक वातावरण अनुकूल छैन । तत्काल कुनै आँधी आउने सम्भावना पनि देखिँदैन । त्यसैले २०८४ मा केही होला कि भनेर पर्खिनुबाहेक मतदातासँग पनि अर्को आशालाग्दो विकल्प छैन ।