नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।
काठमाडौं र अछामबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसहित ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको हो । त्यस्तै अछाम, मंगलसेन नगरपालिका-५ मंगलसेन बजारस्थित अर्जुन सिंह बिष्टको सिलाई कटाईको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय रमजान खाँसहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।