नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका हुन् ।
बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । जसमा नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ ।
यस्तै बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन र भोलि(सोमबार) उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।