एक गुमनाम जिन्दगी : डा. यज्ञ अधिकारी

डा. यज्ञ अधिकारी त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका प्राध्यापक मात्र नभएर एक प्राज्ञिक नेता पनि हुन् । नेपालमा रहेका कुनै पनि उच्च तहको नेतृत्वभन्दा प्रजातन्त्रका लागि कम योगदान नगरेका डा. यज्ञ अधिकारी हाल गुमनाम जिन्दगी बिताइरहेका छन् । उनी वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति भए । पछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पनि स्ववियु सभापति भए । पटक पटक जेल परे । दुःख पाए । त्रिभुवन विश्वविद्यालय अन्तरर्गतको नेपाल तथा एशियाली अध्ययन केन्द्रको निर्देशक भए ।

उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट नेपाली काङ्ग्रेसको विदेश नीति सम्बन्धमा विद्यावारिधि गरे । प्रजातन्त्र र समाजवाद विषयमा धेरै ठाउँमा प्रशिक्षण दिँदै हिँडे । ठाउँ ठाउँमा कार्यपत्र प्रस्तुत गरे । लेख–रचना लेखे । पुस्तक लेखे । सकारात्मक सोचका धनी प्रजातान्त्रिक समाजवादका व्याख्याता डा. यज्ञ अधिकारीले आफ्नो सक्रिय जीवनकालमा नेपाली काङ्ग्रेस र विश्व–विद्यालयलाई आफ्नो क्षमताले भ्याएसम्म योगदान दिए । उनी एउटा यस्ता योद्धा हुन् लोकतान्त्रिक नेपालका, जसले कहिल्यै पनि कसैसँग केही अपेक्षा राखेनन् । २०७५ वैशाखमा ब्रेन स्ट्रोक भएर गम्भीर रूपमा बिरामी परे । आफ्नै जेथा जमीन बेचेर उपचार गराए । कसैसँग सहयोगको अपेक्षा राखेनन् ।



उनकै सहपाठीहरू वा उनले प्रजातान्त्रिक समाजवाद पढाएका मान्छेहरू सत्तामा थिए वा सत्ताका नजिक थिए तर उनले कसैबाट आशा गरेनन् । लामो समय बिरामी परेर बिछ्यौनामा बसे । बोली वन्द भयो । हात खुट्टा चलेनन् । तर यी प्राध्यापकले जीवनप्रतिको आशा मारेनन् । दृढ इच्छा शक्ति र सकारात्मक सोचका कारण यी बोल्न थालेका छन् । साथीभाइ – इष्ट मित्र चिन्न थालेका छन् । अझै पनि डा. यज्ञमा मुलुक र लोकतन्त्रका प्रति केही गरौं भन्ने हुटहुटी छ । उनले अँगालेको विचार बोक्ने दल नेपाली काङ्ग्रेसका बारेमा चिन्ता गर्छन् र भन्छन् “बीपीको आदर्श बोके नेपाली काङ्ग्रेसको मात्रै हैन, मुलुककै हित गर्छ । तर खै मेरो कुरा कसले पो सुन्छ र ?”

.डा। यज्ञलाई जीवनको यो समयमा लाग्छ “यो सुन्दर देश आर्थिक रूपमा अघि बढ्यो भने संसारकै स्वर्ग बन्छ । विश्वको सबभन्द राम्रो हावापानी र प्राकृतिक छटाले भरिएको मुलुकमा सानो प्रयासले पनि ठूलो उन्नति गर्न सकिन्थ्यो । राजनितिक रूपमा युगान्तकारी परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन आम जन–मानसले महसुस गर्न पाएनन् । यो बारेमा कसले विचार–विमर्श गर्ने ?”

वीपी कोइरालाका सच्चा अनुभायी डा. यज्ञ मलिनो स्वरमा भन्छन “मलाई मेरो विचार बोकेको दल र त्यसका नेताहरूले नसम्झे पनि प्रजातान्त्रिक समाजवाद सम्झिए पुग्छ । मुलुकलाई सम्झिए पुग्छ । आम जनताको दुःख सम्झिए पुग्छ ।”

यी जब्बर योद्धा आजकाल चितवनको आफ्नो घरमा आफ्नो दोस्रो जीवन बिताई रहेका छन् । उनी लोकतन्त्र र समाजवादका बारेमा चिन्तन गरिरहेका छन्; मुलुकको दुर्दशा देखेर चिन्ता गरिरहेका छन् । एउटा लामो इतिहास बोकेका, संघर्षमय जीवन बिताएका, नेपाली काङ्ग्रेसका निम्ति ज्यान, घर–परिवार र जागिर दाउमा राखेको पुराना दिनहरू सम्झँदै गुमनाम जीवन बिताइरहेका छन् ।

हो, एउटा कुरा भन्नै पर्ने हुन्छ– भाउजु भुवन थपलियाको रेखदेख स्याहार–सुसार, हिम्मत अनि अविछिन्न प्रेमका कारण डा। यज्ञ बोल्न सक्ने भएका हुन् । अहिले मान्छे चिन्न सक्ने भएका छन् । साथीभाइ – इष्टमित्रहरूसँग सन्चो – बिसन्चो भन्न सक्ने भएका छन । डा. यजले उनको यो संघर्षमय जीवन के प्राप्त गरे, त्यो बेग्लै लेखा–जोखाको विषय होला तर ढिलै भए पनि भुवन भाउजु जस्तो जीवन संगिनी पाए । लाग्छ, यो कुरा उनका लागि ईश्वरीय प्राप्तिको विषय हो ।

भागवत पुराणमा उल्लेख भए झैँ दयमन्ती रानीको नल राजालाई गर्ने प्रेमझैं डा. यज्ञ प्रतिको भुवन भाउजुको प्रेमिल समर्पणले आज एउटा समाजवादी विचारक एवं प्रजातान्त्रिक योद्धाले दोस्रो जीवन पाएका छन् । भुवन भाउजु डा. यज्ञका लागि मात्र नभएर हाम्रा लागि पनि देवदूत सावित भएकी छन् । यी हिम्मत र प्रेमकी खानी भुवन भाउजुलाई कोटी कोटी नमन नगरे उनीमाथि अन्याय हुन जान्छ ।

संसारमा धेरै मान्छेहरू राजनितिमा सक्रिय छन् । त्यस्तै धेरै मान्छेहरू प्राज्ञिक कर्ममा पनि संकलन छन् । तर जो राजनीतिमा सक्रिय छन्, ती सबै प्राज्ञिक कर्ममा सक्रिय छैनन् । साथै जो प्राज्ञिक कर्ममा संलग्न छन्, ती राजनीतिमा सक्रिय छैनन् । थोरै मान्छेहरूले मात्र राजनीति र प्राज्ञिक कार्यलाई सँगसँगै लिएर हिड्न सकेका छन् । हो, तिनै थोरै मान्छेहरूमध्ये एक हुन्, डा. यज्ञ अधिकारी । भनिन्छ– जीवन सरल रेखामा हिँड्दैन । डा. यज्ञको जीवन पनि सरल रेखामा हिँडेन । कहिले यता, कहिले कता, तल–माथि भइरहयो । तर पनि यी विचलित नभई अगाडि बढिरहे । एक्कासि २०७५ वैशाखमा ठूलो बिरामी परेपछि स्वाभाविक रूपमा राजनीति र प्राज्ञिक रूपमा सोचे अनुरूप सक्रिय हुन सकेनन् ।

मुलुक र प्रजातन्त्रप्रति हाल यस मुलुकमा रहेका जुनसुकै उच्च तहको नेतृत्वभन्दा कम योगदान नगरेका डा. यज्ञ अधिकारीका साथी–सहपाठीहरू जो सत्तामा छन्, पद र प्रतिष्ठामा छन् । उनीहरू चितवनकै बाटो भएर मेची–महाकाली हिँड्छन् । उनीहरूलाई कुनै समयका प्रजातान्त्रिक योद्धा प्राज्ञिक नेता डा. यज्ञलाई भेट्न वा सन्चो–बिसन्चो सोध्न फुर्सद होला र ? तर पनि डा. यज्ञलाई कसैप्रति गुनासो छैन । यी हिम्मत र साहसका प्रतिमूर्तिलाई एउटै चिन्ता छ– ‘मुलुकले हालसम्म प्राप्त गरेको उपलब्धिलाई कसरी संस्थागत गर्ने ?’ मान्छेका जीवनप्रति यस्तै हिम्मत र साहस देखेर होला हिन्दीका प्रख्यात कवि कुँवर नारायणले कतै लेखेका छन्– “कोई दुःख मनुस्य के साहस से बड़ा नहीं । वही हारा, जो लडा नहीं ।”
अस्तु

सम्बन्धित समाचार