नामले होइन, कामले चिनिनु पर्छ नेताले

दुनियाँमा एउटै नाम भएका कयौं मान्छेहरू हुन सक्छन् । नाम मात्र हा्ेइन, धेरैको अनुहार पनि अर्को कोहीसँग मिल्दोजुल्दो हुनसक्छ । पुष्पकमल दाहाल, शेरबहादुर देउवा, खड्गप्रसाद ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल आदि नाम भएका सयौं व्यक्तिहरू हुन सक्छन् । तर उनीहरूको भौतिक शरीरको समाप्तिसँगै ती नामहरू पनि क्रमशः विस्मृतिको गर्तमा विलाएर जान्छन् । आफ्नो नामलाई अमर राख्न चाहनेले देश र समाजका लागि केही उल्लेखनीय काम गर्न सक्नुपर्दछ । उदाहरणीय कर्मविनाको रहरले मात्र कोही अमर हुन सक्तैन । वस्तुगत यथार्थ पनि यही हो ।

हाम्रो देशमा माथि उल्लेखित नाम भएका नेताहरू पनि छन् । शारीरिक र मानसिक हिसाबले पनि उनीहरू शिथिल छन् र जीवनको उत्तरार्धतिर पुगिसकेका लाग्छन् । उनीहरूको भौतिक शरीरको समापनसँगै उनीहरूको नाम पनि भुइँ मान्छेसरह इतिहासको अँध्यारो गर्तमा विलाएर जानेछ । अवसर पाएर पनि उनीहरूबाट सुकीर्तिका लागि एउटै पनि उदाहरणीय काम हुन सकेन । देशले पनि उनीहरूबाट आदर्श उदाहरणको अपेक्षा राख्न सकेन । बरू उनीहरूले आफूले पाएको अवसरको चरम दुरुपयोग गरे । त्यसैले पनि पछिल्लो पुस्ताले उनीहरूलाई सत्ता र शक्तिको दुरुपयोग गर्दै देशको ढुकुटी दोहन गर्ने, भ्रष्टाचार र बेथितिलाई संस्थागत गर्ने नेताहरू भनेर चाहिँ सम्झिन सक्छन् । यो उनीहरूकै कर्मले खनेको गोरेटो हो ।



उनीहरूले देशका लागि सिन्को नै भाँचेनन् भन्ने पनि होइन । हिजोका दिनहरूमा उनीहरूले सिन्को भाँचेकै हुन् । तर विगतमा गरेको योगदानलाई वर्तमान अवस्थामा उनीहरू आफैंले ध्वस्त पारिदिए । पुराणमा वर्णित भष्मासुरले आफूले पाएको बरदानको सामर्थ्य थाहा नपाउँदा आफैं भष्म भएको कथा नेपालका नेताहरूलाई प्रतीक बनाएर लेखिएको व्यङ्ग्य साहित्यजस्तै भान हुन्छ । भष्मासुरलाई पनि उसले गरेको कर्म गलत हो भन्ने नलागेको हुनसक्छ, नेपालका नेताहरूलाई जस्तै ।

नेताहरू युवा वर्गका लागि दिग्दर्शक पनि हुनुपर्ने हो । देशका युवाहरूले उनीहरूलाई आदर्श मानेर उनीहरूले देखाएको गन्तव्यतिर गतिशील हुनुपर्ने हो तर अवस्था उल्टो भइदियो । उनीहरू आफू आत्मरतिले मख्ख परेपनि सचेत युवा वर्ग यी नेताहरूको नाम सुन्ने बित्तिकै मुखमा चुक परेझैं गरेर आफ्नो अनुहार बिगार्छन् । टेलिभिजनमा उनीहरूको फोटो देख्दा पनि हेयका दृष्टिले हेर्दछन् । यी नेताहरूप्रतिको अविशवास र चरम असन्तुष्टि एयरपोर्टको भीडलाई हेरेर पनि अनुमान लगाउन सकिन्छ । नेताहरू स्वयम् भने आफूलाई सिङ्गापुर बनाउने ली क्वान यु भन्दा पनि महान् ठान्दछन् ।

बरू पछिल्लो समयमा उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह धेरैका लागि प्रेरणाका स्रोत बन्दैछन् । पुरानाहरूको ठूलो अवरोधका बाबजुद पनि छोटो समयमा उनले जे जति काम गरेका छन्, काठमाडौंलाई नयाँ बनाएका छन् । राजनीतिमा अनुभव त काम गर्नलाई होइन, राज्यकोष लुट्नलार्ई मात्र चाहिने रहेछ । आगामी चुनावमा मतदाताका बीचमा गएर कसैले ‘म बालेनजस्तै भएर काम गरेर देखाउँछु’ भन्यो भने बरू उसले चुनाव जित्न सक्छ तर चुनावी सभामा गएर ‘म दाहालजस्तै बन्छु’ वा ‘देउवाजस्तै बन्छु’ वा ‘ओलीजस्तै बन्छु’ भन्यो भने त्यस उम्मेद्वारको अवस्था कस्तो होला ?

आफ्नो अस्तित्व धूलिसात् भइसक्ता पनि नेताहरूमा अझै चेतनाको ढोका खुलेको छैन । देशको नेतृत्व तहमा पनि बालेनजस्तै कर्मवीर नेता चाहिने कुराको आवाज उठ्न थालिसकेको छ । अझै पनि पुरानाहरू आफूलाई निर्विकल्प देख्छन् र आफ्नो बुझाइलाई नै अन्तिम सत्य ठान्दछन् । उनीहरूको यही चिन्तन नै सबै जडको आधार हो, नेपाल पिछडिनुको मुख्य कारण हो ।

उपनिर्वाचनको परिणाम्ले हौसिएको एमाले :
ओलीका दिनै बलिया, उपनिर्वाचनमा दुबै ठाउँमा एमालेले विजयश्री प्राप्त गर्न सक्यो । यसले आफ्नै पार्टीभित्र कमजोर हुन लागेका ओली एकाएक बलिया हुन पुगे । ‘कुन्ताकी बुहारी भटमास खाकी’ भनेझैं त्यसै त अरूलाई लाञ्छित गर्न र व्यङ्ग्य–बाण प्रहार गर्न माहिर ओली, अब कसलाई बाँकी राख्लान र ! तर एमाले धेरै नचम्किए हुन्छ । झण्डै दुई तिहाइको जनमत पाएर सरकारको नेतृत्व गर्न पाउँदा त काण्डबाहेक देश र जनताका पक्षमा केही गर्न सकेन र निरीह सावित भयो, अहिले एउटा प्यादा थपिँदैमा विश्वविजय गरेझैं चम्किनुको के अर्थ छ र ?
उपनिर्वाचनमा एमाले आन्तरिक रूपमा काङ्ग्रेससँगभन्दा रास्वपासँग डराएको हुनुपर्छ । काङ्ग्रेससँग पराजित हुँदा एमालेसँग ‘फेस सभिङ’ गर्ने अनेक बाहना हुनसक्थे तर रास्वपासँग पराजित हुँदा भने पत्रकारका चर्का प्रश्हरूलाई के भनेर उत्तर दिने भनेर एमाले चिन्तित बनेको हुन सक्छ । पहिचानवादीले कति भोट काट्ने हुन् र काङ्ग्रेस र एमालेबाट फ्रस्टेड मतदाता कति रास्वपातिर जाने हुन् भनेर आँकलन गर्न सजिलो थिएन । तर मत परिणाम्मा रास्वपाले जमानत पनि बचाउन नसकेको घोषणापछि एमालेको खुसी जताततै पोखिएको हुनुपर्छ, आत्मरतिमा रमाएको हुनसक्छ ।

नेम्बाङको विजयसँगै ओलीलाई मिसन ८४ को चुनावी सभामा एउटा दह्रो मसला मिलेको छ् । रविले अलिक राम्रो होमवर्क गरेका भए परिणाममा केही फेरबदल पनि हुन सक्थ्यो । सहकारी प्रकरणले पनि उनलाई केही क्षति पुगेको हुनसक्छ । उता देउवा पनि काङ्ग्रेस हारेकोमा भन्दा पनि गगनलाई ‘देखिस्’ भन्न पाएकोमा मख्ख हुन सक्छन् । सम्भवतः उनलाई पनि ८४ मा अर्को दलसँग जोडिन सहज बनेको हुनसक्छ । प्रचण्डले पनि ‘हाम्रो मतले एमालेले जित हासिल गरेको हो’ भनेर गफ दिन पाइहाले । यस उपनिर्वाचनले ठूलो क्षति भने रास्वपालाई नै भएको हो । नयाँबाट कुनै चमत्कार होला कि भनेर अपेक्षा गरेका आम जनताको विश्वासलाई अबका दिनमा नयाँहरूले कत्तिको विवेकपूर्ण ढङ्गले बचाउन सक्छन्, उनीहरूको भाग्य र भविष्यको अग्निपरीक्षा पनि यही हो ।

बजारमा काङ्ग्रेस–एमाले गठबन्धनको चर्चा :
बजारमा अहिले काङ्ग्रेस–एमाले गठबन्धन हुने हल्लाले राजनैतिक क्षेत्र तरङ्गित बनेको छ । यस सम्भावित गठबन्धनलाई कतिले विकास र समृद्धिको बलियो आधार बन्ने आँकलन गरेका छन् भने कतिले यसलाई समयको माग भनेका छन् । वास्तवमा यी दुबै भनाइहरू अतिरञ्जित छन् । यो हल्ला त काङ्ग्रेस–एमाले गठबन्धन हुँदा बिगौती खान पाइने आशा गर्नेहरूका मनगढन्ते अभिव्यक्ति मात्र हुन् ।

किनभने, काङ्ग्रेसका देउवा र एमालेका ओली चीन र अमेरिकाजस्तै एकअर्काको प्रगति देख्न नसक्ने इर्ष्यालु पात्र हुन् । देशको समृद्धि यिनीहरूको एजेण्डा हुँदै होइन । यिनीहरू दुबै सिंहदरबारमा कसले बढी फोटाहरू झुण्ड्याउने भन्ने प्रतिस्पर्धामा छन् । उनीहरू एकले अर्कोलाई कसरी प्रयोग गर्ने भन्ने दौडमा पनि छन् । गठबन्धन भएका भोलिपल्टदेखि यिनीहरूको स्वार्थमा टकराव आउन थाल्छ र यिनीहरूको सम्बन्ध पनि ओली र नेपालको जस्तै बन्नेछ । अनि, निर्लज्ज भएर दुबै आरोप प्रत्यारोपमा उत्रने छन् ।

काङ्ग्रेस र एमाले दुबै दलले सुविधाजनक बहुमतको अभ्यास गरिसकेकै हुन् । सुविधाजनक बहुमत भएकै बेलामा पनि यिनीहरूले एउटै राम्रो काम गर्न नसकेकै हुन् र यही समय यिनीहरू सर्वाधिक आलोचित पनि भएका हुन् । आफूले प्राप्त गरेको जनादेशलाई देश र जनताको पक्षमा पार्न नसक्ने यी दुई दल (पात्र) बीच गठबन्धन नै भयो भने पनि यिनीहरूले के नयाँ काम गर्लान् भनेर अपेक्षा गर्ने र ? देश विकास गर्ने सवालमा हिजो पनि यिनीहरूलाई केले रोकेको थियो र ? अतः यिनीहरूबीच गठबन्धन भयो नै भने पनि त्यो प्रचण्डलाई ‘देखाइदिने’मा मात्र सीमित हुनेछ ।

अन्ततः देश केही व्यक्तिहरूको स्वार्थको गोलचक्करमा फँस्नेछ । नेपालको अस्थिर राजनीतिको फाइदा उठाउँदै विदेशीले नेपाललाई खेल मैदान बनाउने छन् । अनि, नाम मात्रका नेपालका सार्वभौम जनता हेरेको हेर्यै हुनेछन् ।

सम्बन्धित समाचार