नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । तेह्रथुम, लालीगुराँस नगरपालिका-७ स्थित सडकमा को.१ ख ५८२९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय साजु श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-१५ मेचिनगर बस्ने २३ वर्षीय सुगम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपातर्फ रिफर गरिएको छ ।
त्यस्तै धादिङ, खनियाबास गाउँपालिका-५ च्युल्वामा बा.५ ख ५९६३ नम्बरको आइचर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा आइचरमा सवार सोही गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आइचर चालक समेत ३ जनालाई उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ ।
यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा ना.६ ख ८९३७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीलाई हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता रूपन्देही, मायादेवी गाउँपालिका-४ सेमरीमा लु.१ ख ६९६७ नम्बरको बसको ठक्करबाट भारत बिहार घर भई बेथरी जगदम्बा धागो कारखानामा काम गरी बस्ने रमेश कुमार साहकी छोरी ४ वर्षीय प्रियल कुमारी साहको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-८ पाथिभरा मन्दिर नजिक सडकमा प्रदेश १-०१-००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६ प २५२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।