नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ माघ ।
नेपाल आइसिसी यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रनमा समेटिएको थियोथियो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजफरले ३७ रन बनाए भने कप्तान नासिर खान मारुफखिलले ३१ रन जोड्दा फ्रिडोन दाउदजाइले २९ र हसन इसाखिलले २० रन बनाए ।
नेपालका लागि आकाश चन्दले आठ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए भने दिपेश कँडेलले २ विकेट लिँदा गुल्सन झा, सुवास भण्डारी र तिलकराज भण्डारीको भागमा समान १-१ विकेट रह्यो । १४६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४४.४ ओभरमा विकेट ९ गुमाउँदै पूरा गर्यो । नेपालको लागि कप्तान देव खनालले ५८ रनको अर्धशतकीय पारी खेले भने दिपक बोहराले २७ रन बनाए । यस्तै आकाश त्रिपाठी १६ रन बनाई आउट भए भने अर्जुन कुमालले १० रन जोड्दा सुवास भण्डारी ९ रनमा अविजित रहे ।
अफगानिस्तानका लागि फरिदुन दावुड्जाईले ३ विकेट लिए भने खलिल अहमद र नासिर खानले समान २-२ विकेट लिँदा अरब गुल र घजान्फरको भागमा समान १-१ विकेट रह्यो ।