नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, गुर्भाकोट नगरपालिका-७ मेहलकुनास्थित सडकमा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनि ट्रक र प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका-७ मोतिपुरस्थित सडकमा लु.२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।