नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका-२ टंकीस्थित सडकमा को.३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ बाँसबारी बस्ने ७० वर्षीय जय प्रकाश रेग्मीको मंगलबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-१ दोरिममा बा.२ च ४४५० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमोको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिप चालक समेत ५ जनालाई नगर अस्पताल मेलम्ची हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । यता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ कालीगण्डकी चोकमा ग.१ ख ८५४७ नम्बरको बसले ना.४६ प ७७५९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-१७ बेलुवा बस्ने ६३ वर्षीय बलराम पौडेलको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता बैतडीको दोगडाकेदार गाउँपालिका-२ कटौजपानीस्थित सडकमा सु.प.प्र.०१००२ ज १५३७ नम्बरको बलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका चालकसहित ३ जनालाई उपचारको लागि धनगढी कैलाली पठाइएको छ । अन्य ४ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनको भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा ग.२३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही कञ्चन गाउँपालिका-४ बस्ने ३३ वर्षीय रमेश रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता कैलालीको गोदावरी नगरपालिका-२ स्थित सडकमा बा.१८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया नन्दा देवी नाथको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ स्थित सडकमा से.६ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बाँसगढी नगरपालिका-४ बठौवागाउँ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटो आकासे पुल नजिक रोकी राखेको बा.५ ख २५१ नम्बरको निशान गाडीमा प्रदेश न.३ -०२-००९ न ७००७ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय समन भुजेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको छ । हाल फरार निसान चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।