नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । ललितपुर महानगरपालिका-१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्ने ५६ वर्षीय चिरी बाबु श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-३ वर्मास्थानस्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका-१५ गुडार बस्ने ७८ वर्षीय गंगाराम महतो शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धादिङ, थाक्रे गाउँपालिका-२ सिम्लेस्थित पानीको कुलोमा सोही ठाउँ बस्ने ४० वर्षीय शिव कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी पश्चिम, सरावल गाउँपालिका-२ मनरीस्थित बाटो छेउमा रामग्राम नगरपालिका-९ पिपरहिया बस्ने ३५ वर्षीय लाल बहादुर कहार शनिबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।