धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेन भए आक्रोशित, फेसबुकमा लेखे यस्तो स्टाटस

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै धराहरामा बनेको निःशुल्क पार्किङ प्रयोग गरिरहेको काठमाडौं महानगपालिकालाई सो काम बन्द गर्न पत्र गएपछि आक्रोशित भएका हुन् ।

उनले धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको बताएका छन् । ‘उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ’ उनले लेखेका छन् ।



त्यस्तै उनले निर्माण सम्पन्न नभै उद्घाटन गरेको भए त्यो गम्भीर भ्रष्टाचारकै नयाँ प्रकृति हुने बताएका छन् । ‘हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ,’ उनले फेसबुकमा लेखेका छन् ।

‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौँ ‘ उनले फेसबुकमा लेखेका छन् ।

बालेन साहले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको त्यस्तै
‘२०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौँ तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।’

तर केहिदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’

उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ । अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ । अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।’

सम्बन्धित समाचार