नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । पाल्पा, रिप्दीकोट गाउँपालिका-८ काहुले बस्ने ५३ वर्षीय कृष्ण भन्ने अमर बहादुर गाहा र उनकै श्रीमती ४२ वर्षीया स्यामकला गाहा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रामेछाप, लिखुतामाकोशी गाउँपालिका-३ चित्रे बस्ने ४५ वर्षीय काले तामाङ सोही ठाउँस्थित सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता सर्लाही, बाग्मती नगरपालिका-४ जिरायत बस्ने ४५ वर्षीया लालदेवी महतो आफ्नै घरको बरण्डमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै ताप्लेजुङ, फुङलिङ नगरपालिका-५ बीरेन्द्र चोक बस्ने ७१ वर्षीय काजी भन्ने राम बहादुर महतरा सोही नगरपालिका-४ थेचम्बुस्थित छाप्रोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । घरबाट गत बुधबार दिउँसो हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता उदयपुर, बेलका नगरपालिका-१ पुरन्दह बस्ने ५९ वर्षीय सुकदेव चौधरी सोही ठाउँस्थित पुरन्दह चोकको कल्बटमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उता धादिङ, निलकण्ठ नगरपालिका-११ पात्लेपाखा बस्ने ५७ वर्षीय ज्ञान बहादुर गुरूङ सोही ठाउँस्थित गोरेटो बाटोबाट करिब १ सय मिटर तल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-७ चनौटे नयाँ बजार बस्ने ६१ वर्षीय सरन कुमार दंगाल सोही ठाउँस्थित सडकको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता तनहुँ, देवघाट गाउँपालिका-५ बगन्दीस्थित त्रिशुली नदीको किनारमा गोरखा, गोरखा नगरपालिका-३ नारेश्वर बस्ने २९ वर्षीया अन्जली तिवारी अर्याल आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।