नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जी नै प्रधानमन्त्री रहनुपर्ने बताएका छन् । संसद् बैठकपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वसहमतिअनुसार अब नेकपा (एस)का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने नेपाली कांग्रेसका केही नेताहरूको अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा पत्रकारका जिज्ञासाको जवाफमा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पदमा रहनुपर्ने बताए ।
‘अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन । प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ’ अध्यक्ष नेपालले भने ।