सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्य्हन्म भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका-२३ बेलापुल नजिक बेलापुलबाट बेलाचोकतर्फ जाँदै गरेको श्रीराम सेकेन्डरी बोर्डिङ स्कुलको बा.२ क ७६० नम्बरको बसको ठक्करबाट साइकलयात्री भारत मधुवनी घर भई हाल जनकपुर उपमहानगरपालिका-२३ ससुराली घरमा बस्ने २७ वर्षीय ममताज कबाडीको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ दर्खसवामा लु.९५ प १९३३ नम्बर र लु.९६ प ३६०४ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा लु.९६ प ३६०४ नम्बरको मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा बस्ने ३४ वर्षीय आशिष श्रेष्ठको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उदयपुर, त्रियुगा नगरपालिका-१३ असारी बेलगाछी चोकमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.१-०५-००१ प्र ४०८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-११ बस्ने २२ वर्षीय सुजन कटुवालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ । यता बारा, कलैया उपमहानगरपालिका-१६ उत्तर झिटकैयास्थित सडकमा ना.८ ख २१९५ नम्बरको टिपरले ना.३० प ९८३० नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-७ बरेवा टोल बस्ने ६० वर्षीय बिष्णु थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी हस्पिटल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । उता सिन्धुपाल्चोक, चौतारा सागाँचोक गढी नगरपालिका-१० सुकुटेस्थित सडकमा बा.१९ च ९१२३ नम्बरको गाडी, बा.प्र.०२-०२७ प ८५६२ नम्बरको स्कुटर र बा।४२ प ४१६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक दोलखा बैतेश्वर गाउँपालिका-७ बस्ने २० वर्षीय प्रज्ज्वल तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जना सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौरमा पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सिरहा, कर्जन्हा नगरपालिका-३ जनक चोकमा ज.१२ प ५१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक धनुषा गणेशमान चारनाथ नगरपालिका-२ राधापुर बस्ने ३० वर्षीय बिरेन्द्र यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार