बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-६ ठेगाना भएका ६७ वर्षीय रामभक्त थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रूपैयाँ ७४ पैसा विगो बमोजिम जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।



क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी थापाले निज संचालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी ८ करोड ५० लाख रूपैयाँ कर्जा लिई सो कर्जा दुरूपयोग गरी फाइनान्स कम्पनी लिमिटेडलाई विगो बराबर हानी नोक्सानी पुर्‍याएको भन्ने बैंकिङ कसूर मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

सम्बन्धित समाचार